आठौंले दिएको उपहार


टीएस ठकुरी
नेपोलियन हिलले कुनैबेला भनेका थिए चाहना नै सबै उपलब्धिहरुको उद्गम स्थल हो । साँच्चिकै हरेक मानिसले सपना देख्नुपर्छ, इच्छा राख्नुपर्छ, चाहना हुनुपर्छ, त्यो पुरा हुन्छ । खजुराका हकमा पनि केही युवा र स्थानीय तहको नेतृत्वको सपना, इच्छा र चाहनाले खेलकुद पुर्वाधार विकासको ग्राफ उकालिदो छ । शिखरमा पुग्न केही समय अवश्य लाग्छ । तर यात्रा जारी रहनुपर्छ । कसैले भनेका थिए गन्तव्यमा पुग्ने आशा कहिल्यै नछाड्नुहोस किनभने सूर्य अस्ताएपछि नै फेरि बिहानी हुन्छ । खजुराले ख्याल ख्यालमै निकट भविष्यमै भव्य खेलकुद ग्राम पाउँदैछ । कतिपयले सपना भनेको बिषय अब विपना बन्दैछ ।
कुनै पनि ठाउँ बिशेषका लागि खेलकुद विधा विकास र समृद्धिको ऐना मानिन्छ । त्यो ठाउँ कति शिक्षित छ, कति सभ्य छ, कति विकसित छ, आर्थिक पक्षमा कति समृद्ध छ? लगायत बिषय आधुनिक समाजले खेलकुदमार्फत देखाउने गरेको छ । खजुराले पनि आफ्नो परिचय खेलकुदमार्फत देखाउने गरेको छ ।
बहुप्रतिक्षित आठौं राष्ट्रिय खेलकुद औपचारिक उदघाटन हुनु एक साता अघि चार जिल्लामा सुरु भएका खेलमा दर्शक सभागिता न्युन रहेको भन्दै आलोचना खेपिरहेका बेला अचानक खजुरामा लोभलाग्दो दर्शक देखिए ।
चैत २७ गते एकैपटक ललितपुरमा स्क्वास, रुपन्देहीमा टेनिस, दाङमा टेबलटेनिस र बाँकेको नेपालगन्जमा पुरुष हक्की सुरु गरिएको थियो । तेस्रो दिनसम्म दर्शक संख्या न्युन देखिएपछि मुलधारका मिडिया र सामाजिक सञ्जाल आयोजकका बारेमा आलोचनाका शब्दले रंगिन थालिसकेका थिए । जब २९ गते बेलुकी खजुराको ज्ञानोदय मावि परिसरमा दर्शकको ओइरो लाग्यो, अनि आयोजक राष्ट्रिय खेलकुद परिषद(राखेप)लाई आयोजनाको औचित्यलाई पुष्टि गर्ने बल मिल्यो । उसले अब सन्तुष्टिको स्वास फेर्न पायो । ज्ञानोदयले बक्सिङ(पुरुष÷महिला) सञ्चालनको जिम्मेवारी पाएको थियो । बक्सिङ, त्यो पनि रात्रीकालीन । कृतिम प्रकाशमा बक्सिङ भिडन्त हेर्न घाम छिप्पिएसँगै हुलका हुल मानिसहरु ज्ञानोदय पुगिहाल्थे ।
पुर्व सैनिकहरुको बाहुल्य मानिएको खजुरा क्षेत्रमा बक्सिङप्रति बढ्ता चासो रहने पुर्वानुमान गरिएको थियो । भलिबल र फुटबल त्यस भेगका खास लोकप्रिय खेल नै भए । नेपालगन्जमा आयोजना हुने खेलकुदका ठुला इभेन्टहरुमा ५० प्रतिशत भन्दा बढी दर्शक केवल खजुरा भेगबाट रहने अनुमान गरिन्छ ।
यसअर्थमा खजुरामा आठौं राष्ट्रिय खेलकुद अन्तर्गत खेलहरुको आयोजना सार्थक रहनेमा आयोजक सुरुवाती चरणदेखि नै आशावादी देखिन्थे, एकहिसाबले ढुक्क थिए । यसअघि खजुरामा २०६७ सालमा सितापुर गौघाटमा भएका दोस्रो राष्ट्रिय पुरुष बिच भलिबल तथा २०७५ मा केगाउँमा भएको राष्ट्रिय युवा एथलेटिक्स च्याम्पियनसीपको सफलताबाट सिंगो राखेप त्यस क्षेत्रका बारेमा जानकार थियो, डिगाउँ मैदानमा हुने फुटबलमा दर्शकको उल्लेख्य सहभागिताका बारेमा पनि राखेप नेतृत्व अनभिज्ञ थिएन सायद ।
प्रधानमन्त्री कप महिला भलिबलको पाँचौं संस्करणको फाइनलमा गत बर्ष कभर्डहलको भरिभराउ परिदृष्यबाट लोभिएका र आयोजनाको पृष्ठभुमिका बारेमा सम्पुर्ण नालीबेली थाहा पाएका सदस्यसचिव बिष्टले फाइनल सकिए लगत्तै त्यसै रात स्थलगत भ्रमण गरी भोलिपल्ट बिहानै खजुरामा शुक्र भलिबल स्टेडियम शिलान्यास गरेका थिए । त्यसलाई मिसन आठौंसँगै जोड्दै एक हिसाबले करिब दुई करोडको लगानीमा भलिबल स्टेडियम अहिले तयार छ । यसलाई कभर्ड गर्दै लैजाने राखेपको सोंच छ ।
आठौं अन्योलका बीच सुरु गरिएको थियो । राखेप नेतृत्व दुई ध्रुवमा विभाजित थियो । एउटा खेमा भौतिक पुर्वाधार निर्माण नसकी राष्ट्रिय खेलकुद गर्न हुँदैन भन्थ्यो, सदस्यसचिव बिष्ट भने समयमै पुर्वाधार सम्पन्न गराएरै छाड्ने र आठौंलाई पनि समयमै गर्नेमा दृढ थिए । उनको सोंचलाई वास्तमा खजुरेलीले नैतिक बल प्रदान गरिरहे । जतिवटा समन्वय बैठक बोलाइन्थे, खजुरा जुरुक्कै उठ्थ्यो । यसले सदस्यसचिवलाई धेरैभन्दा धेरै खेल खजुरा बेल्टमा दिन पाए हुन्थ्यो भन्ने मनभित्र लागिरहेको थियो । पालिका प्रमुख किस्मत कक्षपति पनि सदस्यसचिव बिष्टसँग नियमित सम्पर्कमा थिए । सदस्यसचिव नै राखेपको कार्यकारी पद हो भन्ने प्रमुख कक्षपतिले राम्रोसँग बुझेका थिए । तसर्थ उनले सदस्यसचिवलाई जति इभेन्ट दिएपनि गर्न सकिने आधार दिइरहेका थिए । क्षेत्रीय अध्यक्ष भिम ओली सोही क्षेत्रका बासिन्दा हुनुका नाताले धेरै भन्दा धेरै खेल सञ्चालन गराउन र पुर्वाधार बजेट विनियोजन गराउन रणनीतिक हिसाबले लागिरहेकै थिए । चार वटा भेन्यु सुनिश्चित गराइसकेपछि भिमजीलाई पनि चुनौति थियो, सफल आयोजनाका लागि । तसर्थ उनले खजुराका जोशिला युवालाई आठौंको मुख्य भेन्यु नेपालगन्ज रंगशाला केन्द्रित गर्नुभन्दा खजुरामै फोकस हुन आग्रह गरे । पालिका प्रमुख कक्षपतिको नेतृत्वमा भएको बृहत भेलाले समिति उपसमिति गठन गरेर काम अगाडि बढाइसकेको थियो । यसहिसाबले काम अगाडि बढाइरहँदा खजुरा क्षेत्रमा झण्डै दुई दर्जन स्वागत द्धार निर्माण गरिएका थिए । जुन नेपालगन्जमै पनि दर्जन बढी स्वागतद्धार देखिएन । खजुरा क्षेत्र ठुलै महोत्सवमय बनेको झझल्को दिन सफल भयो ।
खजुरा पालिकाले पाएको जिम्मेवारी अन्तर्गत पहिलो इभेन्ट बक्सिङ थियो ज्ञानोदय माविको परिसरमा । यसको तयारी र खेल आकर्षण पुष्ट्याईं गर्न पनि राखेप सदस्यसचिव केशव बिष्टलाई प्रमुख अतिथि बनाइएको थियो । नेपालका लागि अन्तर्राष्ट्रिय पदकतालिकामा सर्वाधिक सफल मध्ये बक्सिङ खेल खजुरामा आयोजना हुनु आफैंमा पत्रकारहरुका लागि चासोको बिषय थियो, पहिलो रात नै दर्शकको उपस्थितिले जब फेसबुक रंगियो, सबैलाई लोभ्यायो । भोलिपल्टदेखि मुलधारका पत्रकारहरु खजुरा जान लालायित हुन थालेका थिए । ज्ञानोदय उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीको नेतृत्वमा प्रधानाध्यापक ऋषिराम सरको समन्वयले खजुराको संस्कार प्रमाणित नै गरिदियो । अन्यत्र दर्शकको उपस्थिति निराशाजनक भनेर समाचारहरु आइरहे, फेरि ४ गते डिगाउँ मैदानमा फुटबल र शुक्र भलिबल स्टेडियममा भलिबल उद्घाटन कार्यक्रम थियो । भोलिपल्ट ५ गते औपचारिक उदघाटन समारोह थियो । तैपनि खजुराको रौनक देखेर केन्द्रबाट आएका अतिथिहरु प्राय खजुरा पुगे फुटबल र भलिबल भेन्युमा । त्यहाँ पनि दर्शकको ओइरो देखेर राखेप अधिकारीहरुलाई उर्जा मिलेको हुनुपर्छ । उनीहरु निकै खुशी देखिन्थे, बिशेषगरी सदस्यसचिव बिष्ट । बिष्टको एकल निर्णयले खजुराका भेन्यु अन्तिम समयमा फिक्स गरिएका थिए । त्यसमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीको इच्छा र खजुरा गाउँ पालिका प्रमुख किस्मत कक्षपतिको अग्रसरता प्रमुख कारण थिए । आठौंको प्राविधिक उपसमितिबाट ज्ञानोदय झण्डै खारेज भइसकेको थियो, पालिका प्रमुख कक्षपति आफैंले सदस्यसचिव बिष्टलाई आश्वस्त पार्न सफल भए । अनि त्यो भेन्यु पनि अन्तिममा फाइनल गराए । डिगाउँ मैदान अन्तिममा सुनिश्चित गरियो, त्यो पनि पालिका प्रमुख कक्षपतिको जोडबल र वडाध्यक्ष तिलक सुनारको सक्रियता देखेपछि । तिलकजीको अगुवाइमा सोही मैदानमा बडो रोमाञ्चकारी फुटबल प्रतियोगिता हरेक बर्ष आयोजना हुने गर्छ । यो सबै पृष्ठभुमि खेलकुद अध्यक्ष ओलीले सदस्यसचिव बिष्टलाई बताइसकेका थिए । उनी त्यहाँ भरोसा गर्न योग्य पात्र थिए । गरेर देखाए पनि । साथै पालिकाको आह्वानमा जम्मा भएको सर्वपक्षीय भेला सदस्यसचिव बिष्टलाई आड भरोसा दिलाउने अर्को कारण थियो ।
हुनत बृहत राष्ट्रिय खेलकुदमा दर्शकको संख्या खास सरोकारको बिषय हैन । यो एकहिसाबले छनोट प्रतियोगिता हो । दक्षिण एशियाली खेलकुद(साग)का लागि छनोट गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद हुने गर्दछ । देशभरबाट छनौटका लागि आएका खेलाडी नै काफी हुन्छन्, उनीहरुको अभिभावक आइदिए मात्र पनि दर्शक संख्या थामिनसक्नु हुन्छ । कमर्सियल हैन यो खेलकुद । तैपनि हरेक खेलकुद इभेन्टमा खेलाडी र दर्शक आपसमा पर्याय मानिन्छन् ।
कुनै पनि प्रतियोगितामा दर्शक हुनु सुनमा सुगन्ध हो । खेलाडीको हौसलाका लागि पनि दर्शक आवश्यक हुन्छ । छनोट खेल भएका कारण एकसे एक धुरन्धर खेलाडी आउने भएकाले अभिभावकहरु आफ्ना सन्तान लिएर मैदानसम्म पुग्ने अपेक्षा गरिएको हुन्छ यस्ता बृहत खेलकुदमा । प्रवेश निशुल्क राखिनुको कारण पनि यही हो । तर, नेपाली समाज पिछडिएको छ । त्यति सोच्ने स्तरमा छैन ।
हुनत जुनदिन सोच्ने स्तर माथि उठ्छ, दर्शक संख्या थेगिनसक्नु हुनेछ । त्यो बेला देशभित्रको मिनी ओलम्पिक भनेर चिनिने बृहत राष्ट्रिय खेलकुदको प्रवेशमा शुल्क लगाउनुपर्ने बाध्यात्मक परिस्थिति आउनेछ । जसरी बिश्व खेलकुदका कुम्भमेलाका रुपमा चिनिने ओलम्पिक वा बिश्वकपमा निशुल्क प्रवेश सोच्न पनि सकिन्न । अझ भनौं भने उद्घाटन र समापन समारोहका टिकट खरिद गर्न त्यति सहज छैन, त्यस्तै बिश्वकपको फाइनल खेल र त्यस्तै महत्वपुर्ण खेलहरुका लागि टिकट पाउन सोचेजस्तो सजिलो छैन । तसर्थ घरमै आँगनमै आएको राष्ट्रिय खेलकुदलाई तन, मन र आवश्यक परे धनले पनि सफल पार्न हरेक स्थानीय वासिन्दा तयार हुनुपर्ने कारण यही हो । राज्यको लगानीमा हुने यस्ता बृहत खेलकुदलाई सबैले अपनत्व लिन सक्नुपर्दछ । यसमानेमा खजुरा अगाडि देखियो । उसले आठौंको स्वामित्व लिन सफल भयो । हरेक खजुरेलीलाई अपनत्व लिने वातावरण तयार गरिदियो ।
बृहत राष्ट्रिय खेलकुदका चार खेल एउटै पालिकामा आयोजना हुनु पनि इतिहासमा पहिलो पटक हो । राष्ट्रिय खेलकुदका तीन संस्करण एउटै सहरमा आयोजना भएका थिए । पहिलो काठमाडौं, दोस्रो पोखरा र तेस्रो वीरगञ्ज । चौथो नेपालगन्जले आयोजनाको अवसर पाउँदा तत्कालीन युवा तथा खेलकुद मन्त्री पुर्णबहादुर खड्काको इच्छामा भलिबल सुर्खेतमा भयो । पाँचौं संस्करण काठमाडौंमा भयो, त्यसमा केही खेल लतिलपुरमा पनि भए । हुनत, स्वीमिङ, सुटिङ र स्क्वास जस्ता खेल ललितपुरकै सातदोबाटोमा गराउनुपर्ने बाध्यता रहँदै आएको छ । छैटौं सुदुरपश्चिमका प्रमुख सहर धनगढी र महेन्द्रनगरमा आयोजना गरियो । केही खेल टिकापुरमा पनि गरियो । सातौं पुर्वाञ्चलका बिभिन्न जिल्लामा आयोजना गरिए । आठौंको प्रमुख भेन्यु नेपालगन्ज रंगशाला हो । समापन दाङमा गर्ने पुर्व तयारीलाई स्थगित गर्दै अन्तिममा नेपालगन्ज बनाइएको थियो । यसरी राष्ट्रिय खेलकुदको यात्रा आठौंसम्म आइपुग्दा नेपाली खेलकुदले ठुलो फड्को मारेको छ । यतिसम्मकि सुटिङ र पौडी पनि नेपालगन्जमै भए । त्यसमा पनि साविकको मध्यपश्चिम तथा हालको प्रदेश नं. ५ अन्तर्गत आठौंको मुख्य भेन्यु नेपालगन्ज(बाँके) बाहेक अन्य जिल्ला बर्दिया र दाङमा पनि मुस्किलले ४,५ वटासम्म खेल हुँदा बाँकेकै खजुरा पालिकाले चार खेल आयोजनाको अवसर पाउनु पक्कै खजुराका लागि देशभर सन्देश प्रवाह गर्ने ठुलो माध्यम बन्यो भन्ने लाग्छ । यसले खजुरा शान्ति, सदभाव र एकताका सवालमा अगाडि रहेको सन्देश दिन्छ ।
यति मात्र हैन आठौं राष्ट्रिय खेलकुदकै कारण शुक्र भलिबल स्टेडियम तयार भयो । सोही स्थानमा भएको करिब पाँच बिगाहा जमिनमा खेलकुद एकेडेमी निर्माणको सपना पनि बिजारोपण भइदियो । त्यतिबेलै चलाखीपुर्ण र सुझबुझ ढंगले तयार गरिएको डिपीआर नै खजुरा खेलकुद ग्राम निर्माणको आधार बनेको हो । त्यसमा संघीय सांसद नन्दलाल रोकायको सक्रियता र पालिका प्रमुख किस्मत कुमार कक्षपतिको जिम्मेवारीबोधले जग खडा गर्न बल पुराएको हो । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले तयार गरेको मापदण्ड पुरा गर्न सफल प्रस्तावित खजुरा खेलकुद ग्रामले यसबर्षदेखि नै रातो किताबमा स्थान ओगटिसकेको छ । सुरुमा आएका पचास लाख रुपैयाँले कम्पाउन्डका साथै प्रारम्भिक फुटबल मैदान तयार हुँदैछ । यो पुर्णरुपमा तयार हुँदासम्म करिब एक अरब रुपैयाँको हाराहारीमा त्यहाँ भौतिक पुर्वाधारका संरचना बन्नेछन् । यो हिजो हामीले देखेको सपना थियो, भावी पीढीका लागि गर्व गर्न लायक ठाउँ बन्नेछ । शान्ति, सदभाव र एकता कायम गराउन यसले मद्दत पुराउनेछ । किनकी खेलकुद भनेकै शान्ति, सद्भाव र एकताको विधा हो, माध्यम हो । तसर्थ सबैले भन्न सकिन्छ कि हिम्मत, मेहनत र लगनले हरेक सपनालाई सार्थक बनाइदिन्छ ।
सबैको जय होस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close