महिला क्रिकेटको उदय

  एलबी क्षेत्री जन्मदिन बिशेष

 

एलबी क्षेत्री/

१ असार २०६१ ।

‘केटीले पनि क्रिकेट खेल्ने ? मैले त देखेको छैन,’ शान्तिले आश्चर्यभाव प्रकट गरिरहँदा एकपटक मेरो मथिङ्गल घुम्यो । दिमागमा कुनै नयाँ कुराको बीजारोपण हुँदा मैले पहिलो सेयर गर्ने भनेकै जीवनसाथीलाई हो । नयाँ निर्णय लिनुअघि उनैसँग सल्लाह गर्छु । सम्भावना, चुनौती र जोखिमबारे हामी धेरै कोणबाट कुरा गर्छौं । जीवनसाथीको अर्थ जीवनकालमा आइपर्ने कुनै समस्या, खुसी वा महत्वपूर्ण निर्णयको साझेदार अनि मुख्य सल्लाहकार हुनु पनि त हो !

तर, महिला क्रिकेटको कुरा उप्काउँदा उनैले नाक खुम्च्याई दिइन् । शान्तिलाई सम्झाउनै मैले धेरै मिहिनेत गर्नुप¥यो । मैले संसारका विभिन्न देशमा महिलाले क्रिकेट खेलेका उदाहरण दिएँ । भिडिओ क्लिप खोजेर देखाएँ । मैदानमा पुरुष क्रिकेट मात्र हेरिरहेकाले शान्तिलाई महिलाले पनि क्रिकेट खेल्छन् भन्ने नै थाहा रहेनछ । क्रिकेट मैदानभन्दा परकी शान्ति मात्र होइन, नेपालका धेरै क्रिकेटर नै अनभिज्ञ थिए । शान्ति कन्भिन्स भएपछि सुझाइन्, ‘राम्रोसँग योजना नबनेसम्म कसैसँग सेयर नगर्नु नि ! नत्र, योजना नबुझेरै विरोध सुरु होला, हाँसोमजाक बनाऊलान् ।’

शान्ति स्कुलमा पढाउँथिन् । त्यसैले महिला क्रिकेटको कुरा सुन्दा उनी आफूले पढाउने नानीहरूका हातमा ब्याट सोच्न भ्याउँथिन् होला । तर, उनी आफँैलाई पत्यार नलागे के वास्ता ? त्यसै पनि उनलाई खेलकुदप्रति खासै रुचि थिएन, जे जति थियो मेरै कारण मात्र ।

मैले कोलकातामा वाईके चौधरीलाई पनि टेलिफोन गरेँ । उनी साथी कम, शुभेच्छुक धेरै थिए । नयाँ सोच सुन्दा उनी धेरै नै खुसी भए । त्यो खुसीलाई रोक्नै नसकेझैँ गरेर उनले भनिहाले, ‘आगे बढ् एलबी । तु आगे जाएगा, बहुत अच्छा होगा ये काम ।’ वाईकेका कुराले हौसला मिलिरहेको थियो । उनी आफैँमा एउटा राम्रो क्रिकेटर हुन् । नेपाल फर्किएर मैले क्रिकेटमा गरेको प्रगति देखेर उनी त्यसै पनि दङ्ग थिए ।

मैले भारतीय पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामको एउटा महान् वाणी सुनेको थिएँ, ‘सपना त्यो होइन, जो तपार्इं निदाएर देख्नुहुन्छ । सपना त त्यो हो, जसले तपाईंलाई निदाउनै दिँदैन ।’ साँच्चै ! महिला क्रिकेटको सपनाले मेरो निद्रा भगाइदिएको थियो । प्राची र शान्ति मस्तसँग छेउमा निदाउँथे, म भने अबेर रातीसम्म अनेक योजना बुनेर बस्थेँ । महिला क्रिकेटको अवधारणा आइरहँदा मैले प्राचीको अनुहार नियालिरहेको थिएँ । क्रिकेट छोराले मात्र खेल्ने खेल हो भन्ने भ्रम मैले आफ्नै छोरीको सम्मानका लागि पनि हटाउनु पथ्र्यो । कन्भिन्स भएपछि शान्तिले यो सपना पूरा गर्न सघाइन् । छोराछोरीले समान अवसर र व्यवहार पाउनुपर्छ भन्नेमा उनी पहिल्यैदेखि सहमत थिइन् ।

कुस्तीका मसहुर भारतीय खेलाडी महावीरसिंह फोगटले आफूले अन्तर्राष्ट्रिय पदक जित्न नसकेको छटपटी कालान्तरमा आफ्नो छोरीबाट पूरा गरेका थिए । छोरीले कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेर बुबाको सपना पूरा गरेकी थिइन् । अभिनेता आमिर खानले पछि उनैको बायोपिक ‘दङ्गल’ फिल्म नै बनाए । हुन त प्राचीले कहिल्यै क्रिकेटमा चासो देखाइनन् । तर, त्यसबेला मैले पनि क्रिकेट जीवनमा आफूले नपाएको सफलता छोरीबाट अपेक्षा गरेको थिएँजस्तो लाग्छ ।

प्राचीको न्वारनकै दिन नेपालको अफिसियल प्रतियोगितामा डेब्यु गर्न कलैया हिँडेको मलाई सधैँ सम्झना आइरहन्छ । कोलकातामा उच्च शिक्षा मात्र होइन, क्रिकेट अनुभवसमेत लिएर म कोहलपुर आएको थिएँ । त्यतिबेला यता सबै बिरानो थियो तर मातृभूमिको माटोको सुगन्धले छिट्टै अपनत्व महसुस भइरह्यो । कोलकातामा सिकेको क्रिकेटले मलाई चाँडै घुलमिल गरायो । लगालग धेरै प्रतियोगिताको अवसर जुट्यो । जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय प्रतियोगितासम्म आफ्नो क्षमता प्रदर्शन गर्न पाएँ । त्यो क्रम नेपाली राष्ट्रिय टिमको नेतृत्वमा नपुगुन्जेल जारी रह्यो ।

अब महिला क्रिकेट मेरो नयाँ सपना बनेको थियो, महत्वाकाङ्क्षा बनेको थियो । यस्तो सपना, जसभित्र थुप्रै अधुरा सपना जोडिएका थिए । त्यो सपना पूरा हुँदा क्रिकेटलाई मात्र होइन, नेपाली समाजकै लागि योगदान हुने थियो । खेलबाट समतामूलक समाजतर्फको यात्रा आफैँमा नयाँ अध्याय हुने थियो । मैले त्यसरी हेरेको थिएँ । तर, अवसरजत्तिकै ठूला चुनौती सामुन्ने थिए । म भने भित्रभित्रै छोरीको हातमा बल र ब्याटको कल्पना गरिरहेको थिएँ ।

असार २ गते बिहान कोहलपुर विद्युत् रोड सामुन्ने गोपाल नास्ता पसलमा चिया पिउँदै थियाँै । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान नेपालका कोहलपुर प्रमुख नेत्र उपाध्याय भेटिए । हाम्रो सर्कल एउटै थियो । घरछेउको यो चियापसलमा हरेक दिनजसो भेट भइरहन्थ्यो । चियाको चुस्कीसँगै अनेक गफ हुन्थे । भीड पातलिइसकेपछि मैले खुसुक्क नेत्रजीलाई महिला क्रिकेटको सपना सेयर गरेँ ।

वास्तवमा मलाई उकुसमुकुस भइरहेको थियो । उनी नयाँ क्लिक भएझैँ तरङ्गित भए । ‘गज्जब आइडिया !’ एकै स्वरमा उनले भनिहाले, ‘स्कुल तहमा छात्रा क्रिकेट गराँै । म पनि सहयोगको पहल गर्छु ।’

त्यतिबेला खेल गतिविधि केही थिएन । भइरहेका प्रतियोगितासमेत हुन छाडेका थिए । यस्तोमा नयाँ खेल कसरी सुरु गर्ने ? अझ, महिला क्रिकेट ! प्लानले सघाउला कि भनेर पनि मैले नेत्रजीलाई भनेको थिएँ ।

एनजीओ, आईएनजीओहरू विकास, मानव अधिकार र महिला सशक्तीकरणमा बजेट छुट्याउँथे । प्लानले अघिल्लो वर्ष छात्र क्रिकेटमा साझेदारी गरेकाले आशा जागेको थियो । महिला क्रिकेट साँच्चै महिला सशक्तीकरणको अभियान थियो । त्यो सपना पूरा हुँदा त्यसले हाम्रा छोरीहरूलाई छोरासरह क्रिकेट मैदानमा उतार्ने थियो । छोरीहरूका हातमा पनि बल र ब्याट देखिने थिए । उनीहरूमा पनि एउटा आत्मविश्वास जाग्ने थियो । हामी पनि केटाहरूभन्दा के कुरामा कम छौँ भन्ने भावना पलाउँथ्यो ।

मैले सहयोग, सहकार्य र सल्लाह लिन कुनै ढिला गरिनँ । प्रयोजक र सहयोगीका लागि प्रपोजल लेखेँ । भोलिपल्टै विभिन्न एनजीओ, आईएनजीओ, सरकारी कार्यालय र निजी व्यावसायिक फर्महरूमा ती प्रपोजल पु¥याएँ । नेत्रजीसँग धेरै परामर्श गरेकाले मेरो आशा प्लानसँग थियो, त्यसैले जिल्ला प्रबन्धक रामानन्द गुप्तालाई भेट्न नेपालगन्ज पुगेँ । मेरो प्रस्ताव सुनेर उनले पनि आश्चर्यभाव प्रकट गरे ।

‘यो सम्भव छ र ?’ गुप्ताले सोधे ।

मैले भने, ‘असम्भव भन्ने के छ र सर संसारमा ! मात्र तपाईंहरूको साथ चाहियो ।’ मैले महिला क्रिकेटका धेरै उदाहरण दिएँ । गुप्ताजी मेरा कुरा सुनिरहे ।

अन्त्यमा, उनले सकारात्मक सङ्केत गर्दै भने, ‘ल ठीक छ, म प्रपोजल हेरेर खबर गर्छु ।’

म नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय सदस्य र क्षेत्रीय क्रिकेट विकास समिति, क्षेत्र नम्बर ५ नेपालगन्जको अध्यक्ष थिएँ । महिला क्रिकेट अघि बढ्ने आधार तयार भएपछि लगत्तै मैले क्रिकेट विकास समितिको बैठक बोलाएँ । त्यतिबेला नेपालको क्रिकेटमा पाँच क्षेत्रको मात्र संरचना थियो । क्षेत्र नम्बर ५ ले बुटवल पश्चिमका प्रायः सबै जिल्ला समेट्थ्यो । पछि, क्षेत्र नम्बर ६ बैतडी जन्मियो । धेरै पछि क्षेत्र नम्बर ७ धनगढी जन्मियो । क्यान केन्द्रीय अध्यक्ष जयकुमारनाथ साह थिए ।

बैठकमा महिला क्रिकेटको प्रस्ताव राख्दा साथीहरूले सुरुमा पत्याएनन् । धेरै त महिला क्रिकेटबारे नै अनभिज्ञ रहेछन् । कतिपयलाई महिला क्रिकेट हुन्छ भन्ने नै थाहा रहेनछ । मैले सबैलाई विश्वासमा लिएँ । केही जिम्मेवार साथीहरूले प्रश्न तेस्र्याए, ‘महिला क्रिकेटसम्बन्धी गफ त धेरै गर्नुभयो । बजेट कहाँबाट ल्याउनुहुन्छ ?’

मैले ‘चाहिने बजेटको धेरै चिन्ता गर्नु पर्दैन, बन्दोबस्त मिलाउँदैछु’ भनेर साथीहरूलाई आश्वस्त पारेँ । अब भने एउटा सपनाले संस्थागत र औपचारिक रूप ग्रहण गर्दै थियो । साथीहरूले बाटो खोल्ने जिम्मा मलाई लगाए ।

हाम्रो नेपालगन्जिया मैदानवरपर महिला क्रिकेटले तरङ्ग ल्याइदिएको थियो । भेटघाट र छलफल भइरहन्थ्यो । हाम्रो स्वीकृत प्रस्तावमा खेल शिक्षकलाई एक दिन र विद्यार्थीहरूलाई तीन दिन प्रशिक्षण दिने कार्यक्रम तय गरिएको थियो । त्यसले क्रिकेटरहरूमा नयाँ कौतूहल र उत्साह जगाइदिएको थियो । किनभने, यो सबैका लागि नयाँ विषय थियो ।

नयाँ प्रतिभाको खोजीको सबैभन्दा राम्रो सम्भावना विद्यालयमा हुन्छ । त्यसैले हाम्रो प्राथमिकता स्कुल तहमै थियो । त्यसै पनि, किशोरीहरू धेरै जिज्ञासु हुन्छन् । त्यसमाथि, लैङ्गिक समानताको नारा लिएर जाँदा धेरैभन्दा धेरै सहभागी हुनेमा हामी ढुक्क थियौँ ।

हामीले जिल्ला शिक्षा कार्यालयसँग समन्वय ग¥याँै । तत्कालीन जिल्ला शिक्षा अधिकारी विष्णु थैव निकै उत्साहित भए । उनी यो अभियानको राम्रा सहयोगी बने । उनले सहभागिताका लागि ४० विद्यालयलाई पत्राचारसमेत गरिदिए । म आफैँ २२ विद्यालयमा पुगेँ । जहाँ पुगियो, सुरुमा सम्झाउनै गाह्रो । छात्रा क्रिकेट सुन्नासाथ प्रधानाध्यापकहरू कान ठाडा पार्थे, केही उत्साह, धेरै आश्चर्यभावका साथ सोध्थे, ‘भलिबलमा ६ जना पु¥याउन त धौ धौ हुन्छ । क्रिकेटमा ११ जना कहाँ खोज्ने ?’ उनीहरूले निमावि र मावि तहका किशोरीहरूलाई कक्षामा गएर सोधेछन् । किशोरीहरू तयार देखिएपछि केही प्रधानाध्यापकले खुसी हुँदै फोन पनि गरेका थिए ।

अन्ततः ३३ विद्यालय सहभागी हुने भए ।

(नेपाली क्रिकेटका पहिलो पुस्ताका खेलाडी एलबी क्षेत्रीको आत्मकथा कप्तान १९९८ बाट)

एलबी क्षेत्री जन्मदिन बिशेष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close