ड्रिम-११ बन्यो आइपिएलको मुख्य प्रायोजक

सेलिब्रिटी खबर/
काठमाडौं ।

अनलाइन फेन्टासी स्पोर्ट्स कम्पनी (ड्रिम ११) बहुचर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग २०२० को मुख्य प्रायोजक हुने भएको छ। ड्रिम ११ले तीन अर्ब ५४ करोड रुपैयाँमा मुख्य प्रायोजकको अवसर पाएको हो ।

यसअघि चिनियाँ मोबाइल कम्पनी भिभोले प्रायोजनका लागि वार्षिक औषत ४४० करोड भारु बुझाउने गर्थ्यो। भारतमा चिनियाँ सामान बहिष्कार अभियान चलेपछि भिभोले सम्झौता सकिनु दुई वर्षअघि नै प्रायोजनबाट हात झिकेको हो। मुख्य प्रायोजकबाट हात झिकेपछि आइपिएलले नयाँ प्रायोजकका लागि आह्वान गरेको थियो। भिभोको बहिर्गमनसँगै ड्रिम ११ले आईपीएलसँग सहकार्य गर्ने अवसर प्राप्त गरेको हो ।
यस सिजनको आइपिएलका लागि २२२ करोड भारु (३ अर्ब ५४ करोड रुपैयाँ) मा मुख्य प्रायोजनको अधिकार पाएको ड्रिम ११ को प्रायोजन सम्झौता मंगलबारदेखि सुरु भएर २०२० को डिसेम्बरमा अन्त्य हुनेछ।
यो सिजनको आइपिएल १९ सेप्टेम्बरदेखि युएईमा सुरू हुनेछ।
मुम्बईको कम्पनी ड्रिम ११ सन् २००८ देखि क्रिकेटमा प्रवेश गरेको थियो। उसले च्याम्पियन्स लिग टी२० मा प्रायोजन गरेको थियो।ड्रिम ११ ले यसअघि न्युजिल्यान्डको घरेलु टी २० फ्रेन्चाइज लिग र टी १० भिन्सी प्रिमियर लिगमा पनि प्रायोजन गरेको थियो। क्यारेबियन क्षेत्रको भिन्सी प्रिमियर लिग कोरोना भाइरसपछि भएको पहिलो फ्रेन्चाइज क्रिकेट लिग हो।
ड्रिम ११ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको आधिकारीक फेन्टासी पार्टनर समेत हो। आइसिसीको पार्टनर भएका कारण उसले आइसिसीका मुख्य प्रतियोगितामा बलियो उपस्थिति देखाउने गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close