ड्रग्स मुद्दाले दीपिकाको स्टार भ्यालुमा असर

एजेन्सी/मुम्बई ।
नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) ले ड्रग्स मुद्दा प्रकरणमा बलिउड अभिनेत्री दीपिका पादुकोणसँग शनिवार ६ घण्टा सोधपुछ गरेको छ । सोधपुछको क्रममा दीपिकाको आँखामा आँशु देखेपछि एनसिबीका अधिकारीले उनलाई इमोसनल कार्ड नखेल्न आग्रह गरेका थिए । एनसीबी अधिकारीले सत्य बताउन आग्रह गर्दै हात जोडेका थिए । उनी तीन पटक रोएको भारतीय मिडियाले बताएका छन् । एनसिबीसँगको सोधपुछमा दीपिकाले ड्रग्स च्याट गर्ने कुरा स्वीकार गरेकी छन् । तर, उनले कहिल्यै आफूले ड्रग्स नलिएको दाबी गरेकी छन् । एनसिबीले ड्रग्स च्याटमा प्रयोग भएका ‘चरेस र गाँजा’ को बारेमा दीपिकालाई सोधेको थियो तर यसको जवाफ उनले स्पष्ट दिइनन् । सोधपुछको क्रममा उनले दिएको जवाफबाट एनसिबीका अधिकारी खासै सन्तुष्ट नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
एनसिबीले शनिवार सोधपुछपछि डेटा ब्याकअपका लागि दीपिकाको दुईवटा मोवाइल समेत जफत गरेको छ । उनलाई एनसिबीले यो मामलामा संदिग्ध र अभियूक्तसँग कुरा नगर्न भनेको छ । यसपछि उनलाई एक अन्डरटेकिङमा साइन गराइएको थियो । एनसिबीका अधिकारीले तीन चरणमा सोधपुछ हुने बताएपछि दीपिका पति रणवीर सिंहको साथमा घर फर्किएकी थिइन् ।
सुशान्त सिंह राजपूत मुत्यु प्रकरणमा अनुसन्धान गरिरहेको एनसिबीको हातमा तीन वर्ष पुरानो ह्वाट्सएप ग्रुपको च्याट परेको छ । २८ अक्टोबर २०१७ मा भएको यो च्याटमा दीपिका, उनकी म्यानेजर करिश्मा प्रकाश र सुशान्तकी म्यानेजर जया साहबीच ड्रग्सलाई लिएर कुराकानी भएको थियो । करिश्माले एनसिबीसँग उक्त ह्वाट्सएप ग्रुपको एडमिन दीपिका रहेको बताएकी थिइन् ।
दीपिकाको नाम ड्रग्सको मुद्दामा जोडिएपछि उनको बलिउड करिअर र ब्रान्डसँगको सहकार्यमा कस्तो असर पर्छ भन्ने टिप्पणी पनि सुरु भएको छ । बलिउडका ट्रेड पण्डितहरु दीपिकाको करिअरलाई यसले ठूलो असर नगरेपनि उनको ब्रान्ड भ्यालू भने घटाउने बताउँछन् ।
भारतीय मिडियाका अनुसार, दीपिकाको नाममा करिब ६ सय करोड लगानी भैरहेको छ । जसमा २ वटा चलचित्र र ३३ वटा ब्रान्ड जोडिएका छन् ।
दीपिकाले निर्माता मधु मन्तेना र शकुन बत्राको चलचित्रमा काम गर्ने तयारी गरेकी छिन् । यस्तै, एउटै विज्ञापनबाट ८ देखि १२ करोड लिने दीपिकासँग ३३ वटा ब्रान्ड जोडिएका छन् ।
बलिउडका ट्रेड एनालिस्ट तथा वितरक राज बंसलले भारतीय मिडियासँग कुरा गर्दै दीपिकाको करिअरमा यसले ठूलो असर पार्ने बताएका छन् । यतिबेला, सबैजना मानिस सेलिब्रिटीको पछि लागेको भन्दै यसले चलचित्रको कलेक्शनमा असर गर्ने बताएका छन् ।
वाट्सऐप च्याटको वास्तविकता पुष्टी गर्न नै बाँकी रहेकाले पनि दीपिकाले जेल नै जानु नपर्ने तर्क केही बलिउड पण्डितहरुको छ । तर, ‘ओम शान्ती ओम’बाट बलिउडमा प्रवेश गरेकी यी सुन्दरीलाई ड्रग्सको मुद्दाले करिअरमा भने ठूलो असर गर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close