सुपरस्टारलाई जोगाएको ‘केबीसी’ दर्शक बिना सञ्चालनमा

सेलिब्रिटी खबर/
बहुचर्चित भारतीय टिभी रियालिटी शो ‘कौन बनेगा करोडपति’को १२ औं सिजन आज मंगलबारदेखि प्रशारण भएको छ । उमेरमा आठ दशकको नजिक रहेका बलिउड सुपरस्टार अमिताभ बच्चन नै कार्यक्रमको मुख्य आकर्षण हुन् । उनी शोमा प्रतिस्पर्धा गर्न आएका प्रतिस्पर्धीहरुसँग रोचक ढंगको भिडन्तको तयारीमा छन् ।
यो बर्ष कोरोना भाइरसका कारण दर्शकको उपस्थितीविना नै कार्यक्रम संचालन हुनेछ । यसका लागि केही नियमहरु परिवर्तन गरिएको छ । ७७ बर्षिय महानायक अमिताभको यो शोप्रतिको लगाव गज्जबको छ । यसको पछाडि, केही कारणहरु छन् । २० बर्ष अगाडि ९० करोड ऋणमा डुबेका अमिताभलाई ऋणमुक्त हुन यो शोले साथ दिएको थियो ।
अमिताभ आफैले पनि निकै महत्वपूर्ण घडीमा यो शो आफ्नो लागि आएको बताएका थिए । उनले पहिलो श्रृङ्खलामा ८५ भाग संचालन गरेको १५ करोड रुपैयाँ वुझेका थिए ।
यो शोको अफर हुँदा अमिताभको परिवार शोका लागि सकारात्मक थिएन । अमिताभले सानो पर्दामा काम गर्दा स्टारडम कमजोर हुने हो कि भन्ने डर उनको परिवारमा थियो । तर, जब शोका निर्माताले उनलाई यूकेको ‘हु वान्ट्स टू बी अ मिलिनेयर’को सेटमा घुमाए, यसपछि उनले काम गर्न तयार भएका थिए ।
सन् १९९५ मा अमिताभले आफ्नो कम्पनी ‘अमिताभ बच्चन कर्पोरेशन लिमिटेड’ संचालनमा ल्याएका थिए । पहिलो बर्ष ६५ करोड रुपैयाँ फाइदामा गएको यो कम्पनी दोश्रो बर्षबाट घाटामा गयो । सन् १९९६ मा आयोजित विश्व सुन्दरी प्रतियोगीताको व्यवस्थापनको जिम्मा लिएपछि कम्पनीलाई ४ करोड घाटा भएको थियो । यही कम्पनीले बनाएको ‘मृत्युदाता’ चलचित्र असफल भएपछि अमिताभलाई ठूलो झट्का लागेको थियो ।
सन् १९९९ मा अमिताभको साथमा उनका कर्मचारीलाई तलब दिने रकम समेत थिएन । चलचित्रको यूनिटका सदस्यहरु उनको घरमै आएर उनलाई गाली गर्न थालेका थिए । उनले आफ्नो घर समेत सहकारीमा राखेर ऋण लिनु परेको थियो ।
अमिताभको करिअरमा ‘कौन बनेगा करोडपति’ निकै महत्वपूर्ण रहेको छ । यसैले, पनि उनले यो शो छाड्ने सोच बनाउन सक्दैनन् ।
यता नेपालमा को बन्छ करोडपति का होस्ट महानायक राजेश हमाल हुन् । एसआरबीएन मिडियाले सञ्चालनमा ल्याएको को बन्छ करोडपति कोरोना कहरकै कारण स्थगित छ । चाँडै सञ्चालनमा ल्याउने एसआरबीएन मिडियाका रमेश न्यौपाने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close